काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूको साझा संगठन भएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवस तथा युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै एमाले सचिव बस्नेतले संगठनले नेपालको युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
उनले विसं २०४७ साल जेठ १ गते स्थापना भएदेखि संगठनले युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, युवा मन्त्रालय स्थापना, युवा नीति निर्माण तथा युवा स्वरोजगार कोष स्थापना जस्ता विषयमा उल्लेखनीय योगदान दिएको दाबी गरेका छन्।
बस्नेतले वर्तमान समयमा युवा आन्दोलन निरंकुशता, स्वेच्छाचारिता, प्रतिशोध र अन्यायविरुद्ध अझ सशक्त, सचेत र प्रतिरोधी ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उनले नवउदारवादी तथा पपुलिस्ट शक्तिहरूलाई परास्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई थप बलियो बनाउनु आजको युवापुस्ताको जिम्मेवारी भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “नवउदारवादी र पपुलिस्ट शक्तिहरूलाई परास्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई बलियो बनाउनु आजको युवापुस्ताको जिम्मेवारी हो।”
बस्नेतले लोकतान्त्रिक पद्धति, जनअधिकार, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायको रक्षा गर्दै नेपालको युवा आन्दोलन अझ सशक्त रूपमा अगाडि बढोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।