एजेन्सी । इरान र अमेरिकाबीच जारी सैन्य तनाव थप चर्किएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले कडा प्रतिक्रिया दिँदै आगामी संघर्ष खाडी क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा अजिजीले आफूहरू “हार्ने पक्षसँग लड्न नडराउने” उल्लेख गर्दै युद्ध अझ व्यापक हुन सक्ने संकेत दिएका हुन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेका विवरणभन्दा युद्धमा भएको क्षति वास्तविकतामा धेरै बढी भएको दाबीसमेत गरे ।
अजिजीका अनुसार, अमेरिकी सैनिकहरूको “मारिने र घाइते हुने संख्या” आधिकारिक तथ्याङ्कभन्दा निकै उच्च भइसकेको र यो क्रम अझ बढ्न सक्ने उनको भनाइ छ।
उनले लेखेका छन्, 'यस पटक यो युद्ध खाडी क्षेत्रमा मात्र सीमित रहने छैन। हेर्दै जाऊँ के हुन्छ।'
यसैबीच, पछिल्ला दिनमा अमेरिका र इरानबीच प्रत्यक्ष सैन्य गतिविधि तीव्र बनेको छ। रिपोर्टअनुसार अमेरिकाले इरानका विभिन्न सैन्य तथा रणनीतिक स्थानहरूमा हवाई आक्रमण गरेको थियो, जसपछि इरानका धेरै क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ।
त्यसको जवाफमा इरानले बहराइनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेको दाबी गरेको छ। दुवै पक्षबीच आरोप–प्रत्यारोप बढेसँगै क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।
सबैभन्दा गम्भीर घटनाका रूपमा इरानले विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ।