काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालय सम्हालेको पहिलो दिनमै आफूले गरेका महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई परम्परागत ढाँचाबाट निकाल्दै प्रभावकारी बनाउने लक्ष्यसहित पहिलो चरणका काम अघि बढाइएको जानकारी दिएका हुन् ।
मन्त्री पुनका अनुसार मन्त्रालय अहिले संरचनागत रूपमा पूर्ण रूपमा विकसित अवस्थामा नभएकाले कामलाई आधारबाटै सुरु गर्नुपर्ने अवस्था छ।
उनले सार्वजनिक गरेको पहिलो निर्णयअनुसार अब मन्त्रालयका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन तयार गर्न विधेयक प्रक्रिया अघि बढाइनेछ। यसलाई मन्त्रालयको दीर्घकालीन संरचना र नीतिगत आधार तयार गर्ने मुख्य कदमका रूपमा लिइएको छ।
त्यसैगरी मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी संरचना र कार्यप्रणाली स्पष्ट गर्न संगठन तथा व्यवस्थापन ९इ७ः० सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ।
मन्त्री पुनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तन गतिविधिलाई एकीकृत र प्रभावकारी बनाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने बताएका छन्।
उनले लेखेका छन्, “विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदै छ। मन्त्रालयलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाउने तयारी भइरहेको छ।”