काठमाडौं । जेनजी आन्दोलनको आवरणमा क्यासिनोमा डकैती गर्नेहरूले उन्मुक्ति पाउने जोखिम बढेको छ ।
एकातर्फ सो अपराधमा संलग्न कतिपय मुख्य व्यक्ति धमाधम न्युन धरौटीमा छुट्न थालेका छन् भने उनीहरूको सम्पत्ति छानबिन पनि रहस्यमय रुपमा रोकिएको छ ।
हायात होटलमा रहेको क्यासिनो प्राइडबाट करोडौं डकैती गर्ने गिरोहका नाइके मानिएका कुले भन्ने कुलध्वज लामा र कोरियन भने राकेश लामा धरौटीमा रिहा भएका छन्।
लामो समय फरार रहेका उनीहरुलाई अदालतमा उपस्थित भएर ४–४ लाख धरौटीमा छुटेका हुन्। जबकी सो गिरोहका सामान्य आरोपीहरू भने कारागार चलान भएका थिए। दलालमार्फत सेटिङ मिलाएर छुटेको उनीहरूले बताउने गरेका छन्।
दुवै जना पटके अभियुक्त समेत हुन्। कुलमानविरुद्ध यसअघि ५ वटा तथा कोरियनविरुद्ध ७ वटा मुद्दा दायर भइसकेको थियो।
यस्तो पृष्ठभुमी हुँदा पनि उनीहरू यती गम्भीर अपराधमा सहजै छुटेपछि प्रहरी अधिकारी पनि अचम्मित भएका छन्। दुवै जना गुन्डागर्दीमा संलग्न हुँदै आएका छन्।
२४ भदौको आन्दोलनमा प्राइड क्यासिनोबाट सो समूहले १४ करोड लुडेर भागबन्डा गरेका थिए। त्यसरी भागबन्डा गरेको पैसा पनि बरामद हुन सकेको छैन । यो मुद्दामा पक्राउ परेका
दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ भने कारागारमा छन्।
गिरोहका सामान्य व्यक्ति जेल चलान हुँदा नाइकेहरु भने धरौटीमा छुटेका हुन्। कारागारमा रहेकाहरू पनि उच्च अदालतबाट छुट्ने प्रयासमा छन्।
क्यासिनो प्राइडमा काभेली समूहद्धारा ५४ करोडको लुटपाट, मुख्य नाइकेहरु अझै फरार
त्यसो त जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको सम्पत्तिको समेत छानबिन गर्ने निर्णय गरेको थियो। डकैती लगायत अपराधबाट केही व्यक्तिले करोडौं सम्पत्ति जोडेको पाइएपछि छानबिन थालिएको थियो।
तर, छानबिन काठमाडौं परिसरमा रहस्यमय रुपमा रोकिएको छ । कतिसम्म भने उनीहरूको बैंक खाता समेत रोक्का भएको छैन । सेटिङमै सम्पत्ति शुद्धीकरणको अनुसन्धान रोकिएको आशंका गरिएको छ।
यसले प्रहरीमाथि पनि प्रश्न उठेको छ । यस्ता खुंखार समूहले उन्मुक्ति पाउँदै गएपछि काठमाडौंमा गुन्डागर्दी लगायत अपराध फेरि बढ्ने जोखिम देखिएको छ।