काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय संसदमा उजागर गरेपछि गृहमन्त्री सुदन गुरुङले चासो दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले सनातन राज्यको पक्षमा धारणा राखेपछि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा हिंसासम्बन्धी धम्की प्राप्त भएको विषय सार्वजनिक गरेकी थिइन् ।
उक्त विषय उठाइएपछि गृहमन्त्री गुरुङले त्यसप्रति चासो देखाउँदै उनलाई बेन्चमै गएर प्रत्यक्ष कुराकानी गरेका छन्।
संसदभित्रै भएको भेटमा गृहमन्त्री गुरुङले घटनाको आवश्यक छानबिन र कानुनी कारबाही अघि बढाइने आश्वासन दिएका छन्।
'धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। तपाईं कारबाहीको प्रक्रियामा जानुस्,' गृहमन्त्री गुरुङले भने ।
गृहमन्त्री गुरुङले पीडित पक्षलाई औपचारिक प्रक्रिया अपनाउन आग्रह गर्दै राज्य संयन्त्रबाट आवश्यक अनुसन्धान अघि बढाइने स्पष्ट पारेका हुन्।
गृहमन्त्री गुरुङले हालै मात्र पदभार सम्हालेलगत्तै व्यक्तिको चरित्र हत्या र लक्षित धम्कीका घटनाप्रति शून्य सहनशीलता अपनाइने बताएका थिए।
विशेष गरी महिला लक्षित अपमानजनक गतिविधिलाई गम्भीरतापूर्वक लिने नीति गृह मन्त्रालयको प्राथमिकतामा रहने उनको भनाइ थियो।