काठमाठौं। ईश्वरी भुजेल हत्या प्रकरणमा हत्याका आरोपित ‘नेपाली ब्रो’ भनिने रेस्लर कुमार थापा मगरलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपेको छ।
श्रीमती भुजेलको हत्या आरोपमा थापा गत २३ जेठमा पक्राउ परेका थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो।
न्यायाधीश पिताम्बर शर्माको इजलासबाट घटना अनुसन्धानका लागि म्याद थप भएको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित घरमा गत शुक्रबार राति करिब १० बजेतिर घरायसी विवाद चर्किएपछि थापाले श्रीमती ईश्वरी भुजेल माथि फलामको रड प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी ईश्वरीलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो।
तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीको अनुसार थापा र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद प्रक्रिया अन्तिम चरणमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैगरी घटनाको कारण, पारिवारिक अवस्था तथा विवादको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोरखा निवासी ४२ वर्षीया भुजेल नेपाली सेनामा कार्यरत थिइन् ।