'टीकापुर विद्रोहको पनि रिपोर्ट सार्वजनिक गरियोस्'
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डमात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
नवनियुक्त गृहमन्त्री सुदन गुरुङले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो भनेका हुन्।
उनले भने- 'दरबार हत्याकाण्ड मात्रै किन रु मदन भण्डारी हत्याको पनि छानबिन होस्, त्यस्तै गरेर सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको हो, उहाँको पनि छानबिन होस्, निर्मला हत्याकाण्ड अहिलेसम्म छानबिन भएर त्यसको बाहिर ल्याउन सकिएको छैन, निर्मला हत्याकाण्डको छानबिन होस् र टीकापुर विद्रोहको एउटा छानबिन आयोग बन्यो। त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन, सार्वजनिक गरियोस्।'
उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनसँग सम्बन्धित उठेका शंकाहरू, चर्चित आपराधिक घटना निर्मला पन्त हत्या प्रकरण र टीकापुर विद्रोह घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
उनले यी घटनाका दोषी अझै पहिचान हुन नसकेको उल्लेख गर्दै त्यसबारे सरकारले यथार्थ सार्वजनिक गर्नुपर्ने माग गरे।
साथै उनले राजनीतिक रूपमा संवेदनशील घटनाहरूको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।