Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बुटवल ‘सुन चोरी’ काण्ड : सञ्चालककै नाटक पर्दाफास, बीमा रकम र धितोको सुन हिनामिना गर्ने योजना !

बुटवल ‘सुन चोरी’ काण्ड : सञ्चालककै नाटक पर्दाफास, बीमा रकम र धितोको सुन हिनामिना गर्ने योजना !

बुधवार , जेठ २७, २०८३

बुटवल । बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौं रुपैयाँ बराबरको सुनचाँदी चोरीको घटना अन्ततः पसल सञ्चालककै योजनाबद्ध नाटक भएको खुलेको छ ।

रुपन्देही प्रहरीले करिब १० दिन लामो अनुसन्धानपछि पसल सञ्चालक बुटवल–५ निवासी दीपक विक र कर्मचारी नवीन विकले नै चोरीको नाटक रचेको निष्कर्ष सार्वजनिक गरेको हो ।

जेठ १७ गते राति पसलबाट ठूलो परिमाणमा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई जानकारी गराइएको थियो । तर अनुसन्धानका क्रममा उनीहरूले ‘मास्टर की’ प्रयोग गरेर आफैं पसल खोलेर गहना निकालेको तथ्य फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार बीमा दाबी गर्ने, साथै ग्राहकले धितोमा राखेका सुन तथा रकम फिर्ता गर्न नपर्ने उद्देश्यले योजनाबद्ध रूपमा चोरीको नाटक मञ्चन गरिएको देखिएको छ।

प्रहरीका अनुसार दीपक र नवीन राति साढे ११ बजेतिर पसलमा प्रवेश गरेका थिए । उनीहरूले साढे २ बजेसम्म पसलबाट सुनचाँदीका गहना निकाली सिद्धबाबामा राखिएको गाडी लिएर पोखरातर्फ गएको विभिन्न स्थानका सीसीटीभी फुटेजबाट पुष्टि भएको छ।

घटनामा पसलबाट १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको दाबी गरिएको थियो ।

जेठ १९ गते बिहान स्थानीयले पसल खुला अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले दर्जनौं नक्कली चाबीका झुप्पा, फुटाइएको लकर तथा अन्य शंकास्पद सामग्री फेला पारेको थियो।

घटनाको रहस्य पत्ता लगाउन प्रहरीले विभिन्न स्थानका करिब १५० वटा सीसीटीभी फुटेज अध्ययन गरेको थियो । अनुसन्धानका क्रममा चोरी भएको भनिएका केही गहना दीपक विककै घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार सार्वजनिक गरिएको रकमभन्दा बढी परिमाणको सुनचाँदी हिनामिना भएको हुनसक्ने आशंका गरिएको छ । थप अनुसन्धान जारी रहेको र नयाँ तथ्य फेला परेपछि सार्वजनिक गरिने एसपी शाहीले बताए ।

चार दशकदेखि सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसल पहिले दीपकका पिता तुलबहादुर विकले सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय दीपकले व्यवसाय सम्हालिरहेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077