काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मे महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को उत्कृष्ट पुरुष खेलाडीको अन्तिम सूचीमा परेका छन् ।
दीपेन्द्रले मे महिनामा कीर्तिपुरमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा उनले ६ एकदिवसीय खेल खेल्दा ४९.८० को औसत र ११०.६६ को स्ट्राइकरेटमा २४९ रन बनाएका थिए ।
यसैगरी उनले ४.५२ को इकोनोमी रेटमा आठ विकेट पनि लिएका थिए । यो सूचीमा बंगलादेशका ताइजुल इस्लाम र मुशफिकुर रहिम पनि छन् ।
यस्तै नेपाली टी–२० टिमका कप्तान दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रसिंह ऐरी अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।