काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको छ।
जितको लागि १ सय ३१ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ७४ रनमा समेटियो।
नेपाली खेलाडीको परम्परागत समस्याले आजको खेलमा पनि निरन्तरता पायो। कमजोर सुरूवात गरेको नेपालले १२।१ ओभरमा ३९ रन मात्र जोड्दा ६ विकेट गुमाइसकेको थियो।
ओपनर रूबि पोद्दार डक आउट हुँदा अर्की ओपनर सम्झना खड्का १२ रनमा, पूजा महतो २ रनमा, सोनी पाख्रिन १५ रनमा कविता कुँवर १ रनमा कप्तान इन्दु बर्मा ७ रनमा पबिलियन फर्किए।
निरन्तर अनमतरालमा विकेट झर्दा कुनै पनि समय नेपाली खेलाडीले इनिङ्स सम्हाल्न नै सकेनन्। साझेदारी बन्न नसक्नु पनि हारको कारण बन्यो। कविता जोशी सातौं विकेटको रूपमा ४ रनमा आउट भइन्।
यसपछि सीता राना मगर र रुविना क्षेत्रीले ३० रनको साझेदारी गरे। तर त्यतिबेलासम्म ढिला भैसकेको थियो। रुविना अविजित २० रनमा रहिन्। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बनिन्। सीताले अविजित १२ रन बनाइन्।
बलिङमा थाइल्याण्डका थिपात्चा फुटवोङ, सुनिदा चतुरोङग्रात्ना र सुलिपोन लाओमीले समान २ विकेट लिए।
त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभल स्टेडियममा टस जितेर थाइल्याण्डले पहिले ब्याटिङ रोज्यो। उसले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनायो।
ओपनर नथाकान छानथाम १ रन जोडेर कविता कुँवरको बलमा आउट हुँदा थाइल्याण्डले १० रन बनाएको थियो। यसपछि फानिता माया र नानपाट खोन्चारोयन्काइले दोस्रो विकेटको लागि ३७ रनको साझेदारी गरे।
६ ।४ ओभरमा ४७ रनको स्थितिमा थाइल्याण्डले फानिता २६ रनमा रुविनामा बलमा रिया शर्माद्वारा क्याच आउट भइन्।
तेस्रो विकेटको रूपमा कप्तान नारूमोइ चाइवाइ ८ रनमा रन आउट भइन्। यसपछि नानपाट र चानिदा सुथिरूवाङले चौथो विकेटको लागि ४२ रनको साझेदारी गर्दै नेपाली बलरहरूलाई दबाब दिए।
यो साझेदारीलाई रियाले तोडिन्। १६ रन बनाएकी चानिदा आउट हुँदा थाइल्याण्डले १७।३ ओभरमा १ सय ३ रन जोडिसकेको थियो।
क्रिजमा जमेकी नानापाटलाई नेपाली बलरहरूले आउट गर्न नसक्दा अर्धशतकीय पारी खेलिन्। उनी५१ बल खेल्दै ६ चौका सहित अविजित ६२ रनमा रहँदै सानदार इनिङ्स खेल्न सफल रहिन्।
१९ ओभरको समाप्तिमा थाइल्याण्डले १ सय १७ रन बनाएको थियो। सीताको अन्तिम ओभर थाइल्याण्डले थप १३ रन जोड्यो। यो सँगै थाइल्याण्डले १ सय ३० रनको योगफल तयार पार्यो। बलिङमा नेपालको प्रदर्शन कमजोर रह्यो। कविता, रुविना र रियाले १र१ विकेट लिए।
यो प्रतियोगितामा निराशाजनक ब्याटिङ प्रदर्शनका साथ नेपाल बाहिरिएको छ। प्रतियोगिताबाट बाहिरिएको नेपाल एसिया कपमा छनोट हुन समेत असफल भएको छ ।
यसअघि मलेसियामा नै भएको अर्को प्रतियोगितामा तेस्रो स्थानको खेलमा चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ।