काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ ।
मलेसियामा जारी खेलमा आज हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमै समेटियो। नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन्। रुबिना क्षेत्रीले १० रन बनाइन्। अन्यले दोहोरो अंक जोड्न सकेनन्।
हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन्। चान का र मार्यम बिबीले २/२ विकेट लिए। सिउ मेई र जोइलिन धलिवालको खातामा १/१ विकेट रह्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो। हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन बनाइन्। मारिको हिलले २९ रन बनाइन्। मारिना लाम्पलोह १८ रनमा अविजित रहिन्।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १/१ विकेटको योगदान दिए।
हङकङसँग हार बेहोरे पनि नेपाल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो । हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो ।
कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागी छन् । प्रिमियर कपमा सेमिफाइनल पुग्ने शीर्ष चार टोलीहरू एसिया कपका लागि छनोट हुनेछन् ।