Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पदको अपेक्षा र योगदानको हिसाब खोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ: रवि लामिछाने

पदको अपेक्षा र योगदानको हिसाब खोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ: रवि लामिछाने

शनिवार , जेठ २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी  जिम्मेवारीमा रहेर भविष्यमा पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति हितविपरीत भएको बताएका छन्। 

पार्टीका जिल्ला अधिवेशनहरू सुरु भएको दिन शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी स्थापना भएको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको बताएका हुन्। 

उनले यस्ता सोच र व्यवहारलाई समयमै सच्याउन आवश्यक रहेको बताएका छन्।  विशेषगरी केही जिल्लामा नेतृत्वका लागि प्रतिस्पर्धा र विवाद बढ्दै गएको उनले उल्लेख गरेका छन् ।

'पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो,' उनले भनेका छन् ।

उनले सबै तहमा सक्षम, इमानदार र जनमुखी नेतृत्व आवश्यक रहेको भन्दै आन्तरिक निर्वाचन र सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

'अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्नँ कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठुलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ,' उनले थप भनेका छन् ।

पार्टी विस्तारसँगै ‘म’ केन्द्रित सोच त्यागेर ‘हामी’ केन्द्रित संस्कार विकास गर्नुपर्ने उनको भनाई छ । 

रास्वपा आगामी असार दोस्रो सातामा केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको छ। त्यसअघि पार्टीले वडा, पालिका र जिल्ला तहका अधिवेशनहरू सञ्चालन गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077