काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले स्पष्ट विचार र गन्तव्यविनाको ‘वाम एकता’ले एमालेको मूल्य र मान्यता कमजोर बनाउने चेतावनी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र केही नेताहरू नेतृत्वमाथि संकट आएको भन्दै पुनः ‘वाम एकता’को प्रयासमा लागिरहेकोप्रति असन्तुष्टि जनाए।
“हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि सीमित व्यक्तिको स्वार्थका लागिरु” उनले प्रश्न उठाएका छन्।
एमाले आफैंमा ऐतिहासिक विरासत बोकेको सशक्त पार्टी भएको उल्लेख गर्दै पाण्डेले तात्कालिक राजनीतिक लाभका लागि हतारमा एकता गर्नु घातक हुने बताए। उनका अनुसार दीर्घकालीन मजबुतीका लागि विचार, नीति र दिशामा स्पष्टता अपरिहार्य छ।
'विचार र निश्चित गन्तव्यविनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई ‘डाइल्युट’ मात्र गर्छ,' उनले भने।
उनले अहिलेको प्राथमिकता पार्टी पुनर्निर्माण हुनुपर्नेमा जोड दिँदै दक्ष, क्षमतावान र विशेषगरी युवालाई पार्टीमा आकर्षित गर्नुपर्ने बताए। अन्यथा पार्टी झन् साँघुरिँदै जाने उनको चेतावनी छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो अनुभव स्मरण गर्दै उनले अब पनि मौन बस्न नहुने स्पष्ट पारे।
'हिजो मौन बस्नु गल्ती थियो, आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,' उनले भने, 'अब एमालेलाई सत्ता र स्वार्थको गणित होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वको मार्गमा अघि बढाउनुपर्छ।'