काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील घडीमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् ।
टिकट वितरणका सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र एकता र सामूहिक जिम्मेवारी नै यस समयको प्रमुख आवश्यकता भएको बताएका हुन् ।
पाण्डेले भनेका छन्, 'निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो। यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो।'
टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पनि पाण्डेले पार्टी निर्णयलाई संस्थागत रूपमा स्वीकार गरिसकेको स्पष्ट पारेका छन्।
उनले थप भने, 'टिकट वितरणको क्याल्कुलेसनलाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौं, तर एमालेलाई जिताउने हाम्रो साझा सङ्कल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।'
पाण्डेले व्यक्तिगत टिप्पणीको खण्डनमा समय खेर नफालेर अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन आफू पूर्ण रूपमा मैदानमा खटिइसकेको बताए।