Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुहाङले प्रस्तावक र समर्थक नपाएपछि सुरेन्द्र पाण्डेले भने - एमाले कसैको 'निजी क्लब' होइन

सुहाङले प्रस्तावक र समर्थक नपाएपछि सुरेन्द्र पाण्डेले भने - एमाले कसैको 'निजी क्लब' होइन

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त छन् ।

सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाएको घटनालाई उदाहरण बनाउँदै पाण्डेले एमालेको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गरेका हुन् ।

पाण्डेले सामाजिक सञ्जालमार्फत लेख्दै संसदीय दलको नेता चयन प्रक्रिया नै आन्तरिक लोकतन्त्र खुम्चिएको स्पष्ट संकेत भएको बताएका छन्।

'एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो,' उनले उल्लेख गरेका छन्।

उनले पार्टीभित्र बढ्दै गएको केन्द्रीकृत सोचप्रति लक्षित गर्दै यस्तो प्रवृत्तिलाई “दमनकारी” भन्दै आलोचना गरे। “जब नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने मानसिकतामा पुग्छ, र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ,” पाण्डेको भनाइ छ।

एमाले हाल ९ सिटमा सीमित भएको प्रसंग उठाउँदै उनले यस्तो अवस्थामासमेत आत्ममूल्यांकन नहुनु चिन्ताजनक भएको बताए। 'यस्तो बेला पनि चेत नखुल्ने हो भने कहिले खुल्ने ?' उनले प्रश्न गरेका छन्।

पाण्डेले अब पुरानो ढर्रा, गुटगत घेराबन्दी र सीमित नेतृत्व शैलीले एमाले अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पार्टीलाई “निजी क्लब” होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउने गरी साहसिक परिवर्तन र नयाँ मार्गचित्र आवश्यक रहेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077