काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन बताएका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको समापनमा लामिछानेले पार्टीमा अनुशासन अत्यावश्यक रहेको भन्दै सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन् ।
सभापति लामिछानेले सांसदहरूले अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै पार्टी ठूलो भएको र सरकार सञ्चालनमा रहेको अवस्थामा प्रत्येक सांसदले जिम्मेवारीसाथ व्यवहार गर्नु आवश्यक भएको बताए।
'सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको 'राइट टु रिकल'को व्यवस्था यसपटक कडाइका साथ लागू गर्नेछ,' उनले भने ।
लामिछानेले मुलुक र जनताले परिवर्तन खोजेपछि विश्वको कुनै पनि शक्तिले त्यसलाई रोक्न नसक्ने बताए ।
उनले भने- 'हामी कानुन बनाउन आएका हौँ । मुलुकले परिवर्तन चाहेको छ । जब जनताले परिवर्तन चाहन्छन्, दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन । अब सही नेतृत्व र राम्रो कामको आवश्यकता छ ।'
यस्तै उनले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताए ।