नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् ।
शनिबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।
नेतृत्व नीतिका आधारमा होइन, आशिर्बादका आधारमा चयन हुन थालेको उनको आरोप छ ।
रातदिन संगठन निर्माणमा लागेका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको र पार्टी अलोकतान्त्रिक बन्दै गएको भन्दै उनले पार्टीमा बस्नुको अर्थ नरहेको बताएका छन् ।
थापा २०७९ सालको निर्वाचनयता रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए । यसअघि फाल्गुण ७ गते रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी छाडेका थिए। बुधबार मात्रै २०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी मधेसकी संस्थापक सभापति ममता शर्माले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
शर्माले पनि पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र मधेसमा टिकट वितरणमा आर्थिक अनियमितता भएको आरोप समेत लगाएकी थिइन् ।
यस्तै बुधबार नै रास्वपा मधेसकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले सामाजिक सञ्जालमा लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले पनि पार्टीमा निरन्तर खटिएका क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको र आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप लगाएकी थिइन् ।
यसअघि माघ २२ गते रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए ।
त्यसअघि कात्तिक २८ गते पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोडेका थिए । यसैगरी असोज १० गते रवि लामिछानेको अपराधको साँची बन्न नसकिने भन्दै केन्द्रीय सदस्य डा। प्रभात अधिकारीले समेत राजीनामा दिएका थिए ।
यस्तै २९ भदौ गते नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै केन्द्रीय सदस्य सुमना श्रेष्ठले र हरि भट्टले पनि राजीनामा दिएका थिए । जेनजी पुस्ताको विद्रोह र समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियामा तालमेल नमिल्दा पछिल्लो समय रास्वपामा राजीनामा दिने क्रम बढेको छ।