काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ ।
विपक्षी दलहरुले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिएपछि रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसदमा ल्याउने पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
संसद नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।
विपक्षीले सोही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए मंगलबारको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।
आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि विपक्षीहरुले अवरुद्ध गरेका थिए ।
अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो।
प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठकमा विरोध नगर्ने दुवै पक्षबीचको सहमतिपछि अहिले सदनको काम कारबाही अघि बढेको छ।