काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा बहस चर्किन थालेको छ ।
पार्टीकी सांसद इन्दिरा राना मगरले सभापति रवि लामिछाने समक्ष सुकुम्वासी बस्ती हटाउने विषयमा पार्टीको स्पष्ट र औपचारिक धारणा सार्वजनिक गर्न माग गरेकी छन् ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोसी प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सांसद राना मगरले स्थानीय तहहरूले सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएकी हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौंमा सरकारले सुकुम्वासी बस्ती हटाएको घटनालाई आधार बनाएर झापा लगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरिन् ।
'नदी संरक्षण गर्नुपर्छ भन्ने कुरा कानुनमै छ, नदी हडपेर बस्नु गलत हो,' उनले भनिन्, 'तर लालपुर्जा भएका नागरिकलाई समेत नोटिस दिएर उठ्न भनिएको छ । उनीहरूले कर तिरेका छन् । कतिपय ठाउँमा जग्गाको मूल्यभन्दा बढी कर उठाइएको अवस्था पनि छ । यस्तो अवस्थामा पार्टीको आधिकारिक धारणा स्पष्ट आउनुपर्छ ।'
उनले सुकुम्वासी व्यवस्थापनको नाममा वास्तविक भूमिहीन र कानुनी प्रक्रिया पूरा गरेका नागरिकलाई समेत अन्याय हुन सक्ने भन्दै संवेदनशील ढंगले समस्या समाधान गर्नुपर्ने धारणा राखिन् ।