काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको लोभ र पुराना नेताहरूको भीडमा नरहेको स्पष्ट पारेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले जेनजी तथा युवापुस्तालाई सम्बोधन गर्दै देश परिवर्तनका लागि आफ्नो संघर्ष जारी रहने बताएका हुन्।
धेरैले आफूलाई अन्य पुराना नेतासँग एउटै कित्तामा राख्ने गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्नचाहन्छु— म ती पुराना नेताहरूको भिडमा छैन। म सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाईबन्धक बनाइरहेको छ।’
आफू फरक भएको दाबी गर्दै उनले आफ्नो काम र निष्ठालाई समयले प्रमाणित गर्ने उल्लेख गरे। ‘म फरक छु र यो प्रमाणित गरेरैछाड्नेछु। मेरो कामलाई आज होइन, भोलिको इतिहासले मूल्यांकन गर्नेछ,’ उनको भनाइ थियो।
भिडियो सन्देशमा प्रचण्डले व्यक्तिगत जीवनमा भोगेका गहिरा पीडाहरू स्मरण गर्दै अब आफूलाई सत्ताको कुनै लोभ नरहेको बताए।
‘मैले सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएँ। एउटा मान्छेले जीवनमा गुमाउन सक्ने सबै कुरा मैले गुमाइसकेँ,’ उनले भने, ‘तरमलाई अघि बढ्न प्रेरित गर्ने कुरा यो हो कि यो संघर्ष मेरो व्यक्तिगत होइन।’
उनले यो आन्दोलन हजारौं सहिदहरूको सपनासँग जोडिएको उल्लेख गर्दै समृद्ध र सुन्दर नेपाल निर्माण नै आफ्नो लक्ष्य भएको बताए। ‘यो ती सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले देशका लागि आफ्नो रगत बगाए,’ प्रचण्डले भावुक शब्दमा भने।
परिवर्तन अनिवार्य भएको दाबी गर्दै उनले आफूले त्यसलाई सुनिश्चित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। ‘मेरो परिवार र मेराकमरेडहरूको बलिदान खेर जाने छैन। परिवर्तन भएरै छाड्छ र म त्यसको जिम्मेवारी लिन्छु,’ प्रचण्डले सन्देशमा भनेका छन्।