रुकुमपूर्व । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्दिप पुनले उम्मेदवारी दर्ता गराएका छन् ।
जनयुद्धका क्रममा दुवै बुबा–आमा गुमाएका पुनको उम्मेदवारीले रुकुम पूर्वको चुनावी माहोल थप रोचक बनेको हो । सन्दिप पुन जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का सुपुत्र हुन् ।
उनको उम्मेदवारी सार्वजनिक भएसँगै रुकुम पूर्वको चुनाव केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय राजनीतिक चासोको केन्द्रमा पुगेको छ । कारण, यही निर्वाचन क्षेत्रबाट माओवादी जनयुद्धका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं उम्मेदवार बनेका छन् ।
राजनीतिक यात्राको सुरुवात विद्यार्थी आन्दोलनबाट गरेका सन्दिप पुनले तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
हाल उनी सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षका रूपमा सहिद परिवार, घाइते तथा युद्धपीडित समुदायको हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
हाल सन्दिप पुन जनार्दन शर्माको संरक्षकत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।