काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९ः२० मा सुरु गरिएको मतदान साढे २१ घन्टापछि आज बिहान ७ बजेतिर सकिएको थियो ।
एमाले निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ मत मात्रै खसेको छ। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन सकेनन् ।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्।