काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ ।
नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।
मतदान नसकिएकाले राति कतिबजेसम्म हुन्छ भन्ने एकिन छैन । त्यसैले एमालेको निर्वाचन समितिले समय थप गरिरहेको छ ।
एमाले महासचिव एवं महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मतदान स्थलमा प्रवेशको समय ८ बजेसम्मका लागि तोकिएको जानकारी दिए । ८ बजेसम्म भित्र प्रवेश गरेर कुपन लिएका प्रतिनिधिहरुले मात्रै मतदान गर्न पाउने उनको भनाइ रहेको छ ।
समयमै कुपन लिएर आफ्नो मतदानको अधिकार सुनिश्चित गर्न समेत महासचिव पोखरेलले आह्वान गरेका छन् ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता सहभागी रहेका छन् ।