काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा ४२९ जना पक्राउ परेका बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री अर्यालले हालसम्म पक्राउ परेकाहरूमाथि विभिन्न शीर्षकमा १६८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार जेनजी आन्दोलनका नाममा हिंसात्मक गतिविधि, तोडफोड, आगजनी, सरकारी सम्पत्तिमा क्षति र हतियार लुटपाटमा संलग्न भएकाहरूलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको छ।
समितिलाई देशको समग्र शान्ति–सुरक्षाको अवस्था बारे जानकारी दिँदै गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनामा लुटिएका तथा हराएका सुरक्षाकर्मीका हतियारमध्ये ठूलो संख्यामा फिर्ता ल्याइसकिएको बताए।
'घटनापश्चात् लुटिएका वा हराएका सुरक्षाकर्मीका ७१८ थान हतियार फिर्ता ल्याइसकिएका छन्,' उनले भने, 'बाँकी हतियार पुनः नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गरिरहेका छन्।'