काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने सिफारिसविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
बुधबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइमै रिट खारेज गर्ने आदेश दिएको हो। संवैधानिक इजलासको उक्त निर्णयसँगै अर्यालको नियुक्तिमा देखिएको कानुनी अन्योल हटेको छ।
अधिवक्ताहरू मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिस प्रक्रियामाथि प्रश्न उठाइएको थियो।
१ चैतको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाउन रोकेको थियो।