काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएको छ ।
लामिछानेमाथि नक्खु कारागारमा रहेकै अवस्थामा नक्कली कागजात प्रयोग गरी बाहिरिएको आरोप लाग्दै आएको छ ।
भदौ २४ गतेको घटनामा रास्वपाका केही सांसदहरूको सक्रियता रहेको बताउँदै आयोगले सो विषयमा लामिछानेसँग विस्तृत रूपमा सोधपुछ गरेको हो ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा बुधबार अपराह्न लामिछाने उपस्थित भएर बयान दिएका थिए । बयान सकिएपछि उनलाई पुनः नक्खु कारागारमै पुर्याइएको छ ।
बयानपछि पत्रकारले प्रश्न गर्दा लामिछानेले छोटो प्रतिक्रिया दिँदै भने — 'बोल्ने समय आउँदैछ ।' छानबिन आयोगका अनुसार लामिछानेसहित घटनामा संलग्न मानिएका अन्य व्यक्तिहरूबाट पनि क्रमशः बयान लिइने तयारी गरिएको छ ।