काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकले हालै भएका वामपन्थी दलहरूसँगका एकता सहमतिको औपचारिक अनुमोदन गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रका नेताहरूका अनुसार, बैठकले एकीकृत समाजवादीसहितका दलहरूसँग भएको सहमति पत्रलाई संस्थागत रूप दिनेछ।
गत कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो।
त्यसको भोलिपल्ट गोपाल किराँती नेतृत्वको जनवादी शक्तिले पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएको थियो।
यी सबै दलहरूबीचको एकता घोषणा आगामी कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा हुने तय गरिएको छ। माओवादी केन्द्रले उक्त कार्यक्रमलाई “वाम शक्तिको ऐतिहासिक पुनर्गठन” का रूपमा तयारी गरिरहेको छ।