काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ । पार्टीको तेस्रो विस्तारित केन्द्रीय समिति बैठकले शुक्रबार सर्वसम्मत रूपमा यो ऐतिहासिक निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रकाश ज्वालाले भने, 'हामीले बाम एकताको विषयलाई गम्भीर रूपमा छलफल गर्यौँ। यही बैठकले माओवादी केन्द्रलगायतका वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।'
उनले थपे, 'अब एकता प्रक्रियाको सम्पूर्ण जिम्मेवारी पार्टी सचिवालयलाई दिइएको छ, सचिवालयले बाँकी कार्यान्वयन अघि बढाउनेछ।'
ज्वालाका अनुसार, बैठकमा एकता सम्बन्धी प्रस्तावमा सहभागी सबै नेताहरूले आफ्नो विचार राखेपछि सर्वसम्मत निर्णय गरिएको हो ।
'हाम्रो कम्युनिष्ट पार्टीमा छलफल जनवादी र खुला हुन्छ। बहुमत होइन, सर्वसम्मतकै आधारमा यो निर्णय गरिएको हो,' उनले भने।
बैठकले हाल देशभरि चलिरहेको जेनजी आन्दोलनका जायज मागहरू पूरा गर्न सबै तहका पार्टी कार्यकर्ता तत्पर हुनुपर्ने प्रस्ताव पनि पारित गरेको छ।