काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गरी उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती हल गर्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको बताएका हुन्।
प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी विचार, प्रतिवद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन्।
उनले भनेका छन्- 'राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत् अघि बढ्नु आजको आवश्यकता हो । यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।'
प्रचण्डका अनुसार, राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ ।
यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको उनले जोड दिएका छन् ।