काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेनजी प्रदर्शनले विध्वंशको रूप लिएको टिप्पणी गरेका छन् ।
आज गृहजिल्ला चितवन भरतपुरमा नेता-पार्टी कार्यकर्तासँगको भेटघाटमा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने- 'हामीले उठाउँदै आएका मागहरू अहिले जेन्जी युवाहरूले उठाउनु माओवादीको निम्ति खुशीको कुरा हो। मैले २३ गते युवाहरूको हत्या भइसकेपछि आरुघाटबाटै फोन गरेर ओलीलाई परिस्थिति राम्रोसँग बुझ्न र राजनीमा दिन भनेको थिएँ, तर उहाँले आफ्नो दम्भ छाड्नुभएन, जसकारण २४ गते ऐतिहासिक क्षति हुनेगरी घटना भयो ।'
प्रचण्डले अहिले पनि ओलीको अहंकार देखेर आश्चार्यमा परेको बताएका छन् ।
उनले भने- 'युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।‘ यति धेरै जनधनको अत्यधिक क्षति भयो, तर आज पनि कुनै पश्चाताप छैन ।'
उनले भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाही घटनाको मुख्य कारण भएको बताएका छन् ।
उनले भने- 'युवाहरूले आफ्नो माग उठाउँदै गर्दा त्यसलाई यति धेरै मिनिमाइज र अपमानित गर्ने कुरा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरे, त्यसले झन् ठूलो उत्तेजना थप्ने काम गर्यो, आगोमा घ्युँ हालेको जस्तै भयो, अहिले पनि उनले घ्युँ नै थपिरहेका छन् ।'
भदौ २३ गते १९ जना प्रदर्शनकारीको मृत्यु भइसकेपछि आफूले गोरखाको आरुघाटबाटै ओलीलाई फोन गरेर राजीनामा दिन आग्रह गरेको प्रचण्डले सुनाए ।
प्रदर्शनमा युवाहरूलाई उत्तेजित बनाउनुमा ओली प्रवृति मुख्य कारण रहेको प्रचण्डको निष्कर्ष छ ।