काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।
सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर छ।
उनले भने- 'मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानूनले समाउँछ, के कानूनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । कहाँबाट ल्याएको यो देश । हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाइन्छ ? हदबन्दी गर्ने चुनावमा जान नदिने, दलहरूलाई चुनावमा भाग लिन नदिने । अनि फागुन २१ मा चुनाव गर्ने ? पोलिटिकल पार्टीहरूसँग सम्वाद नगर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियाँलाई ढाँटेको हो । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनःस्थापना भनेको हो ।'
निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे।
उनले थपे- 'चुनाव गराउने रे ! लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन्, राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने ? कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो ।'
जेनजी आन्दोलनको नाममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको टिप्पणी थियो।