रुपन्देही । सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको फाइल उच्च अदालत तुलसीपुर बुटवलले एकसाथ पेश गर्ने आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार यस्तो निर्णय गरेको हो।
अदालतले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएको भन्दै दुवै फाइल एकसाथ राख्न आदेश दिएको हो । उच्च अदालत इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार केही दिनअघि मात्र जोशीको कैफियत प्रतिवेदन प्राप्त भएको थियो ।
यसअघि दुवै जनाले जिल्ला अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए। जिल्ला अदालतले उनीहरूको निवेदन अस्वीकार गरेपछि उच्च अदालतमा गएका थिए।
लामिछानेले जिल्ला अदालतको आदेश बदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्तिको माग गरेका थिए।