काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
काठमाडौंको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ ।
रास्वपा प्रदेश सभापति पदका लागि अच्युतम लामिछाने र उत्सव अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ। सुरुवातमा चार जनाले सभापतिमा दाबी गरे पनि कृष्णमान शाक्य र हरिबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका थिए।
यही जेठ २६ गते सो पार्टीको बागमती प्रदेशको हेटौँडामा सुरु भएको अधिवेशन प्राविधिक र व्यवस्थापकीय कारणले स्थगन भएको थियो । अधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्रविधिक परीक्षण गरेको थियो । बागमती प्रदेशमा एक हजार बढी मतदाता रहेका छन् ।
बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। यस निर्वाचनलाई रास्वपाको शक्ति सन्तुलन निर्धारण गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुने तथा निर्वाचित सदस्यमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको राष्ट्रिय महासधिवशेन हुँदैछ ।