काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार जारी गरिएको खुला पत्रमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति रास्वपाको स्पष्ट राजनीतिक धारणा माग गरेका हुन् ।
प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यस विषयमा रास्वपाको औपचारिक दृष्टिकोण स्पष्ट गर्नुपर्ने साम्पाङको भनाइ छ ।
साम्पाङले सीमा जस्तो संवेदनशील विषयमा दलहरूको स्पष्ट धारणा आवश्यक हुने उल्लेख गर्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा अस्पष्टता रहन नहुने तर्क गरे ।