काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा बढ्दै गएका सडक दुर्घटनाप्रति गहिरो अध्ययन गर्न तत्काल कार्यदल गठन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काभ्रेपलाञ्चोक र धनकुटामा भएका पछिल्ला बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटनाको कारण पहिचान गरी दुर्घटना न्यूनीकरणका प्रभावकारी उपाय सुझाउन विशेष कार्यदल गठन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
शुक्रबार काभ्रेको नमोबुद्ध नगरपालिका–बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।
त्यसैगरी संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको अर्को यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारी क्षेत्रमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
सभापति थापाले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।