काठमाडौं । काभ्रेपलाञ्चोकमा भएको यात्रुवाहक बस दुर्घटनाको कारण पहिचान गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, घटनाको सत्यतथ्य छानबिन गरी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक निर्देशन दिइसकिएको जनाएको छ ।
शुक्रबार भएको उक्त दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
सरकारले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई समेत निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको समन्वयमा उद्धार र उपचार कार्य सञ्चालन गरिएको थियो । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।