काठमाडौं । विश्वभर केही घण्टासम्म प्रभावित भएको सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको प्राविधिक समस्या अधिकांश प्रयोगकर्ताका लागि समाधान भएको छ ।
समस्या समाधान भएसँगै धेरै प्रयोगकर्ताले पुनः सामान्य रूपमा फेसबुक, मेसेन्जर र इन्स्टाग्राम प्रयोग गर्न थालेका छन् । नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले सेवा सुचारु भएको पुष्टि गरेका छन् ।
यसअघि फेसबुक एप नखुल्ने, मेसेन्जर स्वतः लगआउट हुने तथा इन्स्टाग्राम चलाउन कठिनाइ हुने समस्या देखिएको थियो । हजारौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको भन्दै विभिन्न प्लेटफर्ममा गुनासो गरेका थिए ।
सेवा निगरानी गर्ने वेबसाइटहरूमा पनि फेसबुकका विभिन्न सेवामा व्यापक समस्या देखिएको उल्लेख गरिएको थियो ।
तर, फेसबुकको मातृ कम्पनी मेटाले हालसम्म उक्त समस्याको कारणबारे विस्तृत आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
केही प्रयोगकर्तामा अझै पनि लगइन तथा कनेक्सनसम्बन्धी समस्या देखिएकाले सेवा पूर्ण रूपमा स्थिर हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।