काठमाडौं । पत्नीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै नवजात शिशुसहित एक महिनादेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका सुजन विकले आफ्नो आन्दोलन स्थगित गरेका छन् ।
विकले बिहीबार आफ्ना छोरासहित गृहमन्त्री सुधन गुरुङलाई गृह मन्त्रालयमा भेट गरी घटनाबारे ध्यानाकर्षण गराएका थिए ।
भेटका क्रममा गृहमन्त्रीले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएपछि उनले धर्ना स्थगित गर्ने निर्णय गरेका हुन् ।
सुजन विककी श्रीमती अस्मिता तामाङ विकको गत वैशाख १० गते चितवनको रत्ननगरस्थित बकुलर अस्पतालमा प्रसूति गराउने क्रममा मृत्यु भएको थियो।
चिकित्सकको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको आरोप लगाउँदै विकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै नवजात शिशुसहित माइतीघरमा निरन्तर धर्ना दिएका थिए ।