धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ठकुल्लाले कुल ३३५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धीहरू महेश कुमार चौधरीले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् । पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले १५२ मत प्राप्त गरेका हुन्।
त्यस्तै, सचिव पदमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही निर्वाचित भएका छन्। सदस्य पदहरूमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक बिक र नरदिप बहादुर धामी विजयी भएका छन्।
क्षेत्रीय संरचनाअन्तर्गत कैलाली–१ मा टंकप्रसाद जैशी ढुंगाना, २ मा कृष्णबहादुर बिष्ट, ३ मा बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।
निर्वाचनका क्रममा भने विवाद पनि देखिएको थियो। अध्यक्ष पदका दुई उम्मेदवार हरि रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक भएको तथा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेका थिए। तर बहिष्कारबीच नै मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।
कुल ५०८ मतदातामध्ये ३३५ मत खसेको थियो।