Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा पर्सा अधिवेशनअघि कार्यकर्ताबीच झडप, निर्वाचन प्रक्रिया स्थगित

रास्वपा पर्सा अधिवेशनअघि कार्यकर्ताबीच झडप, निर्वाचन प्रक्रिया स्थगित

शनिवार , जेठ २३, २०८३

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधि चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार हुने जिल्ला अधिवेशनका लागि वीरगञ्ज–९ स्थित एक होटलमा शनिबार निर्वाचन प्रक्रिया सञ्चालन भइरहेका बेला दुई पक्षबीच विवाद उत्पन्न भई हानाहानको अवस्था सिर्जना भएको हो ।

झडपमा महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

विवादको सुरुआत जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियाबाट भएको बताइएको छ। पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगित गर्न माग गर्दै मधेस प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए।

उक्त समूहले जिल्ला सभापति तथा सांसद हरि पन्त निकट पक्षले पार्टीको विधान र पद्धति विपरीत आफूअनुकूल व्यक्तिहरूलाई प्रतिनिधि बनाएको आरोप लगाएको छ ।

उनीहरूले विभिन्न विभागबाट चयन गरिएका प्रतिनिधिको प्रक्रिया, विभाग गठनसम्बन्धी निर्णय र विवरण सार्वजनिक गर्न माग गर्दै त्यसअघि अधिवेशन नगर्न आग्रह गरेका थिए ।

ज्ञापनपत्र प्राप्त गरेपछि निर्वाचन समितिले करिब दुई घण्टाका लागि प्रक्रिया स्थगित गरेको थियो। तर पुनः निर्वाचन प्रक्रिया सुरु भएपछि विवाद झन् चर्किएको बताइएको छ।

होटलभित्र सुरु भएको विवाद बाहिर सडकसम्म पुगेको थियो। प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षका कार्यकर्ताले एकअर्कामाथि हेलमेटसमेत प्रहार गरेका थिए।

स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि घटनास्थलमा पुगेको प्रहरीले लाठीचार्ज गर्दै भिडलाई तितरबितर पारेको थियो।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवका अनुसार झडपपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। अब बाँकी प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077