काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटको भूमरीमा फसेकको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने–‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ । यो संकट दुइटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ ।’
प्रधानमन्त्रीले सदनमा आएको दिएको अभिव्यक्ति र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका कारण देश गम्भीर संकटको भूमरीमा फसेकको दावी गरे ।
उनले भने–‘पहिलो घटना जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले नेपालको भारतको जग्गा मिचेको भनेर गरेको घोषणा र अभिव्यक्तिबाट यो संकट उत्पन्न भएको हो । यो घोषणा रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण जानुको ठीक एक दिन अगाडि आकस्मिक रूपमा यो रोष्ट्रममा आएर उहाँले त्यो सन्देश दिनुभएको हो । अर्को रास्वपाका सभापति लामिछाने दिल्लीमा गएर ‘हामी विगतका बोझ लिएर अगाडि बढ्न चाहँदैनौं’ भनेर दिएको अभिव्यक्तिले संकट पैदा गरेको हो ।’
त्यो बिन्दुबाट पछाडि फर्केर हेर्दा भदौ २३ र २४ गतेबाट संसद् विघटन र नयाँ सरकार गठन जोडिने भन्दै उनले भने–‘त्यो बेला एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिलाई मन्त्री बन्नुछ भने अमुक दूतावासको अनुमति लिनुपर्छ भन्ने विगतका घटना पुनःस्मरण भएर आउँछ ।’
आजको बैठकमा उनले रास्वपाबाट निष्कासनमा परेका तत्कालिन महासचिवको अभिव्यक्तिलाई पनि जोडे । उनले भने–‘रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालको सनसनीखेज खुलासा व्यक्त गर्नुभएको थियो, कुनै शीर्ष नेताले प्रधानमन्त्री हुनका निम्ती म जे पनि सम्झौता गर्न तयार छु, त्यो कुरा भारतको प्रधानमन्त्रीसम्म पुर्याइदेउ भन्ने । त्यो बिन्दु र यो बिन्दु जोडेर हेर्दा संकटको स्रोत थाहा हुन्छ ।’
यी संकटको समाधान प्रधामनन्त्री बालेन, रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालको हातमा रहेको पनि बताए ।
त्यसमा बालेनले संसद्को रोस्ट्रममा उभिएर आफ्नो भनाइ फिर्ता लिएर माफी माग्ने वा रास्वपा सभापति लामिछानेले आफ्ना प्रधानमन्त्रीलाई माफी माग्न लाउने वा सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने रहेको उनको भनाइ थियो ।
त्यसैगरी उनले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताउँदै उनले भने–‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन । सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’