काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सम्बोधनका क्रममा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएपछि एमाले महासचिव शंकर पोखरेलले त्यसप्रति प्रतिक्रिया जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हित र नेपालको आधिकारिक अडानबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनले लेखेका छन्,'बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।'
प्रधानमन्त्री शाहले संसदमा बोल्ने क्रममा नेपाल–भारत सीमा विवादको प्रसंग उठाउँदै नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्दै टिप्पणी गरेका थिए । उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गर्न थालेका छन्।