काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले मानवीय दृष्टिकोण अपनाउँदै न्यायोचित समाधान दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकलाई बस्ती छोड्न बाध्य पारिँदा उनीहरूको पीडा पनि महसुस गर्नुपर्ने बताएका हुन् ।
'अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरुको आँखा र अनुहारमा देखिएको पीडा समेत देख्न सक्नु पर्दछ यिनै गरिब श्रमिकहरूको हातले शहर उठ्यो, तिनकै पसिनाले सडक, बजार र बस्ती गुल्जार भए। आज उनीहरू बाध्य भएर बस्तीवाट टाढिँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त होइन,' पोखरेलले भनेका छन् ।
पोखरेलले ती श्रमिककै श्रम र पसिनाले सहर निर्माण भएको भन्दै उनीहरू बस्तीबाट विस्थापित हुँदै गर्दा केवल नियम पालना भएको उत्सव मनाउनु पर्याप्त नहुने उल्लेख गरेका छन् ।
उनले प्रभावित परिवारलाई सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी भएको बताउँदै पूर्ववर्ती सरकारले समस्या समाधानका लागि कानुनी प्रक्रिया अघि बढाएको र भूमि आयोगमार्फत काम भइरहेको स्मरण गराएका छन् ।
पोखरेलले वर्तमान सरकारले जनताको विश्वास र भरोसालाई सम्मान गर्दै मानवीय र न्यायोचित समाधानतर्फ तत्काल अघि बढ्नुपर्ने पनि आग्रह गरेका छन् ।
सरकारले शनिबार बिहानबाट उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको छ । बस्ती खाली गराउन थालेसँगै थापाथली क्षेत्रको बस्ती पूर्ण रूपमा खाली भइसकेको छ ।
अहिले तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती र सिनामंगलस्थित सुकुमबासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिँदै डोजर चलाउन सुरु गरेको छ ।