काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएसँगै प्रदेशको सत्ता समीकरण फेरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि नै एमाले सरकारमा प्रवेश गरेको हो ।
एमालेबाट बाराका प्रदेशसभा सदस्य मुहम्मद समीर विना विभागीय मन्त्री बनेका छन् । उनलाई बिहीबार राति मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यससँगै अब मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता गठबन्धन औपचारिक रूपमा अगाडि बढेको छ । तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार मुख्यमन्त्री यादवलाई निरन्तरता दिने निर्णयपछि एमाले सरकारमा सहभागी भएको बताइएको छ ।
एमाले संसदीय दलका नेता सरोज यादव ले पहिलो चरणमा समीरलाई विना विभागीय मन्त्रीका रूपमा पठाइएको जानकारी दिए। उनका अनुसार अन्य मन्त्रालय र मन्त्रीको टुंगो मुख्यमन्त्रीले विश्वासको मत लिएपछि लगाइनेछ।
स्रोतका अनुसार जनमत पार्टी ले सम्हाल्दै आएको अर्थ मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनता समाजवादी पार्टी नेपाल को कोटाबाट एउटा मन्त्रालय एमालेले पाउने आन्तरिक सहमति भएको छ।
यद्यपि जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले सरकारमा रहे पनि नरहे पनि समर्थन भने निरन्तर रहने बताएका छन्।
एमाले सरकारमा सहभागी भएसँगै जसपा नेपाल सरकारबाट बाहिरिने सम्भावना बलियो बनेको छ। तर समर्थन कायम रहे मुख्यमन्त्री यादवले कांग्रेसको २२, एमालेको २४, नेकपाको १४ र जसपा नेपालको २६ सहित कुल ८८ मत पाउने देखिन्छ। जसपा नेपाल सरकारबाट बाहिरिए मधेस प्रदेशसभामा जनमत पार्टी प्रमुख प्रतिपक्षी दल बन्ने सम्भावना छ।