काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लमाथि प्रश्न उठाएकी छन् ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए।
उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए ।
उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले शर्माको निर्देशनमा दर्ता गर्न रोकिएको आरोपसहित एक बजेभित्र दर्ता गर्न आदेश गरेकी थिइन् ।
त्यसबारे सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेकी सांसद् बास्कोटाले दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कत्तिको न्यायोचित हो भन्दै प्रश्न गरेकी हुन् ।
उनले शक्ति पृथकीकरणको शिद्धान्तको व्याख्या गर्दै त्यसलाई न्यायपालिकाका न्यायमुर्तीहरुले मिचेको आरोप लगाइन् ।
'आफैँले कायममुकायम प्रधानन्यायाधीशले डेलिगेशन बोलाएर दरपीठ भएका रिटहरुलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नैपर्छ,' उनले भनेकी छन् ।
साथै सांसद बास्कोटाले कानुन दिवसका अवसरमा उनले दिएको अभिव्यक्तिबारे समेत प्रश्न उठाइन् । कानुन दिवसका दिन आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले सर्वोच्चमा वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्तिको परम्परा तोडिएको भन्दै आपत्ति जनाएकी थिइन् । साथै उनले आफू त्यसका विरुद्ध डटेर लड्ने साथै लडाईँ बाँकी रहेको चेतावनी दिएकी थिइन्।
त्यसबारे समेत प्रश्न उठाउँदै सत्तारुढ दलकी सांसद बास्कोटाले उनलाई यदी राजनीति गर्ने भए कालो कोट फुकालेर आउन समेत चुनौती दिइन् ।
'यदी अदालतमा दलीय हस्तक्षेप भएको हो भने म यहाँबाट उहाँकै कमरेडको भाषामा म के बुझाउन चाहन्छु भने राजनीति नै गर्न खोज्नुभएको हो भने न्यायमुर्तीहरुले, कालो कोट खोलेर आउनु होला न्यायमुर्ती हामी तयार छौँ,' उनले थप भनेकी छन् ।