Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कामु प्रधानन्यायाधीशको आदेशपछि पनि दर्ता भएन प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका रिट, उजुरी दिने म्याद सकियो

कामु प्रधानन्यायाधीशको आदेशपछि पनि दर्ता भएन प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका रिट, उजुरी दिने म्याद सकियो

सोमवार , जेठ ४, २०८३

काठमाडौं । प्रस्तावित प्रधान्यायाधीश डा.मनोज शर्माविरुद्धका रिट निवेदन कामु प्रधानन्यायाधीशको आदेशपछि पनि दर्ता भएका छैनन् ।

संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए। 

उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदन समेत दर्ता नभएको भनी उजुरी दिएका थिए । 

उक्त उजुरीपछि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्धका रिट १ बजेभित्रमा दर्ता गरेर आफूलाई जानकारी दिन मुख्य रजिस्ट्रार विमल पौडेललाई आदेश दिएकी थिइन्। 

तर, बिहान अदालतमा हाजिर भएका पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्च अदालतमा नहुँदा दर्ता प्रक्रिया नै रोकिएको हो ।

रिट दर्ताका लागि मुख्य रजिस्ट्रारको तोक चाहिने अदालत प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीश विरुद्धकै रिट निवेदनहरू दर्ता गर्न विगतमा पनि कठिनाइ हुने गरेको स्मरण गर्दै सर्वोच्चको मुद्दा महाशाखाका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश मल्लको लिखित आदेशका बाबजुद केही रिट निवेदनहरू दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन् । उनीहरूले अहिले पनि भावी प्रधानन्यायाधीश विरुद्धको निवेदनमा नेतृत्वले बलजफ्ती गरेर नतिजा ननिस्कने व्यंग्य समेत गरेका छन् ।

यता कामु प्रधानन्यायाधीशको आदेश पनि पनि रिट निवेदन दर्ता नभएको र कर्मचारी नै बाहिरिएको विषयमा छलफल गर्न नेपाल बार एसोसियसनले बैठक बोलाएको छ। 

यसैबीच मन्त्रिपरिषद् बैठकद्वारा वैशाख २४ गते प्रस्तावित ३३ औँ प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरीको म्याद आज सकिएको छ ।

प्रस्ताव अनुमोदनपूर्व संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थाअनुसार उनीविरुद्धका उजुरी सार्वजनिक रूपमा आह्वान गरिएको थियो । उनीविरुद्ध ७ वटा उजुरी परेको छ । उजुरीहरू संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई भोलि मंगलबार वितरण गरिने छ ।

उजुरीका आधारमा बुधबार बिहान ९ बजेदेखि ३ बजेभित्र उजुरी उपर डा. शर्माको जवाफ र सिफारिसलाई निर्णयार्थ पेश गर्ने तयारी छ। उनी बुधबार अनुमोदित भएमा बिहीवार राष्ट्रपतिसमक्ष शपथ लिएर पदमा बहाली हुन सक्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077