काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्।
संसदीय सुनुवाइ समितिबाट आजै प्रधानन्यायाधीशमा अनुमोदित भएका शर्माले आजै शपथ लिन लागेका हुन्।
डा. शर्माको शपथग्रहण बेलुका ६ः१० बजे हुने तय भएको छ ।
प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ । सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण लगत्तै शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने छन् ।
संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।त्यसपछि संसदीय सुनुवाइ समितिले वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका थिए ।
त्यसबारे यसअघि आज बिहान बसेको समितिको बैठकले डा. शर्माउपर परेका उजुरी अध्ययन गरेको थियो । उजुरी अध्ययनपछि समितिको बैठकमा सांसदहरूले प्रश्न राखेका थिए भने शर्माले प्रश्नको जवाफ दिएका थिए ।
सवाल जवाफ सकिएलगत्तै प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संवैधानिक परिषद्को सिफारिसमा सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
अब संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहिअनुसार राष्ट्रपति पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।