काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र नागरिकका मौलिक हकअधिकारको संरक्षणप्रति न्यायपालिका दृढ र प्रतिबद्ध रहेको बताएकी छन् ।
७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कामु प्रधानन्यायाधीश मल्लले वर्तमान परिस्थितिमा कुनै पनि प्रकारको विचलनबिना संविधानले परिकल्पना गरेको विधिको शासन, मानव अधिकार र न्यायपूर्ण समाजको स्थापनातर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले कानून दिवसले सबैमा सकारात्मक सोच र न्यायप्रतिको विश्वास अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
सन्देशमा मल्लले न्यायपालिकामा सुधारको विषय केवल न्यायालयको मात्रै सरोकार नभई राज्यका सबै अंगहरूको साझा दायित्व भएको उल्लेख गरेकी छन् । न्यायपालिकाको स्वतन्त्रता र सुदृढीकरणका लागि समन्वयात्मक प्रयास अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले न्यायिक सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउन न्यायाधीश, सरकारी वकिल, कानून व्यवसायी, कर्मचारी तथा सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताइन् ।
कामु प्रधानन्यायाधीश मल्लका अनुसार न्यायपालिकाले विसं २०६१ सालदेखि रणनीतिक योजनामार्फत सुधारका कार्यक्रम अघि बढाउँदै आएको छ । हाल पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले आर्थिक वर्ष २०८१/८२ मा योजनाका सूचकहरू उत्साहजनक देखिएको र न्यायिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिन् ।
उनले प्राप्त उपलब्धिको संरक्षण, संस्थागत सुदृढीकरण तथा सुधार प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै लैजान न्यायपालिका दृढतापूर्वक लागिरहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ ।