काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा १५ जनाको सदस्यता खारेज गरेको छ।
वैशाख २७ गते बसेको सचिवालय बैठकले अनुशासन र संगठनात्मक मर्यादाविपरीत कार्य गरेको निष्कर्षसहित उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति पनि विघटन गर्ने निर्णय गरेको छ । पार्टीले संगठनलाई व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन आवश्यक पुनर्गठन प्रक्रिया अघि बढाइएको जनाएको छ ।
त्यसैगरी, सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागमा नयाँ मनोनयनसम्बन्धी निर्णय समेत गरेको छ । तर मनोनित व्यक्तिहरूको नाम भने सोमबार मात्रै सार्वजनिक गरिने प्रवक्ता झाले बताए ।