काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी संगठन विस्तार अभियानलाई तीव्रता दिँदै आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले भेला तथा अधिवेशनसम्बन्धी विशेष कार्यतालिका स्वीकृत गरेको हो।
निर्णयानुसार, आगामी जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला आयोजना गरिनेछ भने वैशाख २० अगावै समिति गठन भइसकेका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ।
त्यसैगरी, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन सञ्चालन गर्ने तालिका तय गरिएको छ।
पार्टीले बाँकी संरचनालाई पनि चरणबद्ध रूपमा पूर्णता दिने योजना बनाएको छ। त्यसअनुसार, जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन तथा जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ।
रास्वपाले संगठनलाई तल्लो तहसम्म व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित देशव्यापी अधिवेशन अभियान अघि बढाएको जनाएको छ।